पर्वत । नेपाली कांग्रेसका सांसद शुनिलकुमार शर्माले पर्वतको विहादी गाउँपालिकामा भएको बृहत नि:शुल्क स्वास्थ्य शिविर उद्वघाटन गर्नुभएको छ ।
सांसद् शर्माले मंगलबार विहादी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त शिविरको उद्घाटन गर्नु भएको हो ।
शिविर गाउँपालिका अध्यक्ष परविन गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल, काठमाडौँको प्राविधिक सहयोगमा भएको हो । सांसद् शर्मा उक्त काठमाडौँ मेडिकल कलेजका सञ्चालकसमेत हुनुहुन्छ ।
उक्त निस्शुल्क शिविर विहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा आज बिहान ८ बजेवाट सुरु भएको हो बने बेलुका ५ बजेसम्म चल्नेछ ।
शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिहरूका लागि यातयातको व्यवस्था गरेको छ ।
शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभएको छ ।
शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ ।
शिविरमा १४ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ईसीजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।