पर्वत- पर्वतको विहादी गाउँपालिकाले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल, काठमाडौँको प्राविधिक सहयोग उक्त शिविरको आयोजना गरिएको हो ।
उक्त नि:शुल्क शिविर विहादी–३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा चैत्र २७ गते बिहान ८ बजेवाट सुरु भई बेलुका ५ बजेसम्म चल्नेछ ।
गाउँपालिकाभित्रका असहाय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट बञ्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभएको छ ।
शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिहरूका लागि यातयातको व्यवस्था गरेको छ ।
शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभएको छ । शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ ।
शिविरमा १४ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई।सी।जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरूद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
गाउँपालिकाले बिगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गदै आएको छ । यहाँका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष बताउनुभयो । 'स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिएका छौँ, यहाँका जनताको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ ।' उहाँले भन्नुभयो ।