काठमाडौं। सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।
सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो ।
तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने ढंगले बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्री मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
प्रमुख शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोगको अपेक्षा गरेको बताए।
भेटमा मेयर साहले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न बनाइएको संरचनामा थप सुधार गर्नका लागि महानगरले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।
मन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहोरको परिमाण कम गर्न आफूमातहत निकायलाई निर्देशन दिइसकेको भन्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाडौं महानगरपालिकाभित्र भइरहेका काम प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर साहसँग सुझाव समेत मागे ।
जवाफमा मेयर साहले काठमाडौं उपत्यकामा ट्राफिक जाम व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्ती हटाउन आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे ।
काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ सम्भाव्यताबारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर साहले विकसित मुलुकमा समेत पोड वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।
छलफलमा मेयर बालेनले काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाईओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए ।
छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।