काठमाडौँ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
'कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु', सभामुखले भन्नुभएको छ, 'नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।'
कथाकार प्रधानको ८० वर्षको उमेरमा निधन भएको हो । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानलाई जानकारी दिनुभयो ।
स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।
उहाँका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।