धनुषाको धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । १२ बजेदेखि लागेको आगो २०औं बिघामा फैलिएको छ ।
वनको आगलागी नियन्त्रणमा लिन धनुषाधाम, सबैला, जनकपुरधाम, महेन्द्रनगर लगायतका सात वारुणयन्त्र पुगेको छ। वारुणयन्त्र, गाउँभरका मानिस, सशस्त्र र नेपाल प्रहरी समेत आगो नियन्त्रणको प्रयास गर्दा पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन।
धनुषाधाम संरक्षित वनसँगै रहेको धनुषाधाम बजारमा समेत आगो सल्किने सम्भावना बढदै गएपछि त्रास सृजना भएको छ । वनमा लागेको आगो तीव्र गतिमा बजारतर्फ बढीरहेकोले अन्य विभिन्न पालिकाहरु, अन्तर जिल्लाहरुबाट समेत बारुण यन्त्र पठाउन भनिएको छ ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सिरहा, महोत्तरीको विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउन आग्रह गरेका छन् ।
समयमै आगो नियन्त्रणमा नआए बस्ती सखाप हुने सम्भावना बढदै गएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आगो निभाउने प्रयास जारी राखेको छ ।