काठमाडौँ — दाइजोमा बेहुली पक्षले बेहुलालाई सुनको सिक्री नदिएको विषयमा विवाद हुँदा वीरगन्जमा एउटा बिहेनै भाँडिएको छ ।
वीरगन्ज महानगरपालिका -२४ रामगढवामा सोमबार राति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भए बिहेनै भाँडिएको हो ।
बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका बच्चालाल साहका छोरा उमेश साह र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको बिहेभाँडिएको हो ।
दाइजोमा सुनको सिक्री नदिए बेहुली लान्न भन्दै विवाह अस्वीकार गरेपछि स्थानीयले विवादबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी पुगेको थियो । प्रहरीले दुलाहा बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित ८जनालाई पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।बेहुली पक्षले नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा गरेका थिए । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षको भनाइ छ ।
बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरका थिए । त्यसपछि दुवै पक्षमा विवाद सुरु भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा मण्डपमा प्रहरी पुगेको थियो ।
विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनले पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए ।