काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई आज पुन: वार्ताका लागि बोलाएको छ । आन्दोलनरत मिटरब्याजी पीडित संघर्ष समिति र सरकारबीच आज पुनः वार्ता हुन लागेको हो ।
वार्ता बिहान ११ बजे हुने गृहमन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीच हिजो भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो ।
वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने कुशवाहले बताए ।
हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताए ।
सरकार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुरहरुको समस्या समाधान गर्न आयोग गठन गर्न सहमत भएको बताइएको छ ।
मिटरब्याज पीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै ४२ दिनदेखि निरन्तर आन्दोलनमा छन् ।
मिटरब्याज पीडितको न्यायका लागि भन्दै माघ १६ मा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५ सय र पश्चिमबाट नीर्ग नवीनको नेतृत्वमा २ सय जना पीडित पैदल मार्च गरेर काठमाडौँसम्म आएका छन् ।