२२ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न सूचना जारी गरेको हो।
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरेको हो।
हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि २५ फागुन शुक्रबारको दिन परेको छ । त्यस दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउनेको ठूलो भिड लाग्छ ।
‘कोशी कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।