काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा पेस गर्ने प्रस्तावित मस्यौदा विधानमा सहमति जुटाउन पदाधिकारी बैठक राखेका छन् । अधिवेशन सुरु हुनुअघि प्रज्ञा भवन कमलादीमा बैठक बसिरहेको हो ।
पदाधिकारी बैठकले स्थायी समिति बैठकको म्यान्डेट, तल्ला कमिटीबाट आएको सुझावसहित परिमार्जन गरेर मस्यौदा अधिवेशनमा पेस गर्ने सचिव दिनानाथ शर्माले जानकारी दिए । माघ २६ र २७ गते बसेको केन्द्रीय कार्यालयको बैठकमा मस्यौदामाथि छलफल गरेर परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
परिमार्जनका लागि सोमबार बिहान र बेलुका बसेको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिको प्रयास गरेका थिए । तर सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजेदेखि दुई घण्टा बसेको बैठकमा पदाधिकारीहरूले आ–आफ्ना सुझाव दिएका थिए ।
समस्याको गाँठो प्रत्यक्ष निर्वाचित गर्ने कि आंशिक गर्ने भन्नेमा रहेको एक पदाधिकारीले जानकारी दिए ।
मस्यौदा समितिका सदस्य समेत रहेका उपमहासचिव जनार्दन शर्माले पदाधिकारीसहित सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने अडान कायमै राखेका छन् । संयोजक पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिव गणेश साह लगायत नेताहरू आंशिक प्रत्यक्ष निर्वाचितको पक्षमा उभिएका छन् ।
माओवादीले आजबाट तीन दिन विधान अधिवेशन राखेको छ । १३ प्रतिनिधि सहभागी हुने अधिवेशनमा आगामी सांगठनिक संरचनाबारे बहस र छलफल गर्दै छन् ।