काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
राष्ट्रियसभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ भने मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।