इजरायल युद्धका कारण भय एवम् तनावपूर्ण अवस्था झेलिरहेका नेपालीहरू दशैँको छेकमा घर फर्किने बाटो कुरिहेका छन् ।
हमास समूहको आक्रमणमा परेका १७ जना नेपाली विद्यार्थी मध्ये दश जना नेपालीले ज्यान गुमाइसेका छन् भने बाँकी घाइतेको उपचार भइरहेको छ ।
रोजगारी, अध्ययन एवम् अन्य सिलसिलामा इजराइल पुगेका नेपालीको अवस्था यतिबेला निकै तनावपूर्ण छ। युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन् । आवेदन दिए पनि उनीहरूलाई उद्धार गर्न समय लाग्ने देखिएकाे छ ।
इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारकाे विषयमा कुराकानी गरेका थिए । साेहीअनुसार दूतावासमा स्वदेश फिर्ता हुन चाहने नेपालीले आवेदन दिएका हुन् ।
टेलिफाेन संवादमा आतंककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउनेबारे पनि छलफल भएकाे थियाे । यद्यपि छलफल भए पनि शव ल्याउन पनि केही दिन लाग्ने भएकाे छ ।
इजरायली पक्षले केही प्रक्रिया पूरा गरेपछि मात्र शव फिर्ता हुने जनाएकाे छ।
सरकारले इजरायलबाट नेपालीको उद्धारका लागि जहाज तयारी अवस्थामा राखे पनि उताबाट अवतरणको अनुमति प्राप्त भएकाे छैन ।
दूतावासले इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षामा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएकाे छ ।
सिमाना आसपासमा उद्धारकाे पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको छ ।