पर्वत पाङका शिव बास्तोला कक्षा १२ को पढाइ सकेपछि के गर्ने भन्ने दोधारमा परे। उनी अझै पढेर नेपालमै केही गर्ने सोचमा थिए। तर, घरपरिवार र साथीभाइको दबाब भने विदेश जानुपर्छ भन्नेमा थियो।
सामान्य परिवारमा जन्मिएका उनी उच्च शिक्षाका लागि २०६८ सालमा काठमाडौँ आए। मन तुलबुल थियो। तर उनले ‘ब्याचलर’ को पढाई अघि बढाए। पढाइसँगै केही काम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो।
काठमाडौं आएपछि पनि घरपरिवार र साथीभाइले विदेशै जाने सल्लाह दिन्थे। तर, उनमा बीबीए पढेर नेपालमै केही गर्नुपर्छ भन्ने अठोट बलियो बन्दै आयो। त्यो बीचमा एक जना अग्रज साथीले आफ्नो ट्राभल कम्पनीमा उनलाई काम दिए।
‘दुई महिना जति काम गरेको थिएँ। तर कम्पनी अगाडि बढ्न सकेन,’ आफ्नो पहिलो कामको अनुभव सुनाउँदै शिव भन्छन्, ‘मलाई कता-कता ट्राभल्स एजेन्सीमा गरेको कामले यसैमा लाग्ने रस जगाइदियो।’
त्यसपछि उनले आफ्नै ट्राभल एजेन्सी खोल्ने संकल्प गरे। त्यही संकल्प र प्रतिaद्धताले सुरु भएको सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनीले ठिक एक दशक पार गरेको छ। सन् २०१३ सेप्टेम्बर १९ मा कम्पनी दर्ता हुँदा यसको आफिस एउटा कोठामा सीमित थियो। जता–जहाँ, जेमा पनि उनी एक्लै खट्नुपर्ने अवस्था थियो।
‘एक वर्षसम्म अफिस एउटा कोठामा राखियो तर पछि काम बढ्दै गएपछि बल्ल अलिक व्यवस्थित हुन थालियो’, पुराना दिन सम्झँदै कम्पनीका संस्थापक तथा सीईओ बास्तोला भन्छन्, ‘त्यो बेला कम्पनीका लागि शतप्रतिशत समय दिइयो। मेहनेत गरियो। यद्यपि यो क्रम आज पनि जारी छ।’
कम्पनीले अहिले वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्छ। काठमाडौं बागबजारस्थित हेडअफिसमा झन्डै डेढ दर्जन कर्मचारी छन्। व्यवसायको संरचना र यसको जग फैलिएको छ। कम्पनीले करिब ३ वर्षसम्म एयरलाइन्सको स्टक लिन नमिल्ने एजेन्सीका रूपमा काम गर्यो। तर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सको हवाइ टिकटको आधिकारिक बिक्रेताका रुपमा कम्पनीले सेवा दिँदै आएको छ। हालसम्म ५०० भन्दा बढी सब–एजेन्सीलाई होलसेल हवाई टिकट बेच्ने गरेको छ कम्पनीले। अन्तर्राष्ट्रिय उडानका सबै खाले टिकट वितरण गर्ने लाइसेन्स पाएको कम्पनीले जापानको ओसाकामा पनि कार्यालय सञ्चालनमा ल्याएको छ।
मामा-भाञ्जाको जोडीः सेभेन स्टारका बास्तोला र कँडेल
कम्पनी स्थापनापछि ४ वर्ष बास्तोला एक्लैले कम्पनी चलाए। त्यसपछि, सन् २०१७ मा उनका भान्जा विष्णुप्रसाद कँडेल जोडिए। अध्ययनका लागि डेनमार्क पुगेका कँडेल नेपाल फर्केर मामाभान्जाले संयुक्त रुपमा कम्पनी चलाइरहेका छन्। अहिले कम्पनीको ६० प्रतिशत स्वामित्व शिव बास्तोला र ४० प्रतिशत स्वामित्व विष्णुप्रसाद कँडेलले लिइरहेका छन्।
‘मामासँगको सहकार्यले मलाई पनि व्यावसायिक र कर्मशील हुन सिकाइरहेको छ’, सेभेन स्टारले एक दशक पार गरेपछिको खुशी साट्दै कँडेलले नेपाल क्लिक्ससँग भने, ‘एउटा व्यावसायिक कम्पनी सफल बनाउन शतप्रतिशत प्रतिबद्धता र त्यत्तिकै मेहनेत जरुरी हुन्छ।’
मेहनतको कुरा गर्दा उनीहरु भन्छन्, ‘हामीहरु पर्चा बोकेर एजुकेसन कन्सल्टेन्सीदेखि दूतावासका गेटसम्म पुगेका छौं।’ तर अहिले कम्पनीले सोसल मिडिया मार्केटिङलाई आफ्नो केन्द्रीय बजार रणनीति बनाइरहेको छ। ‘सोसल मिडियाले बिजनेस फैलाउन अलिक सजिलो बनाइदियो’, सीईओ बास्तोला भन्छन्, ‘लगाव र व्यवस्थापनको ज्ञान भयो भने जस्तो संकटमा पनि संस्था शिथिल नहुने रहेछ।’
कोभिडले संसार ठप्प पारेको थियो। सबै उडान स्थगित थिए। त्यो पनि एकाध महिना होइन, दुई–दुई वर्षभन्दा बढी समय कोभिडको कहरले सबै व्यवसायलाई शून्यमा झारेको थियो। ‘तर, कोभिडको बेलामा पनि हामीले भएका सबै कर्मचारीलाई तलब दियौं,’ उनले भने, ‘यो कुरा सम्झँदा लाग्छ, हामीले बलियो नै जग बनाएका थियौँ।’
हवाई टिकटमा सरकारले कर लगाउने विषयलाई सकारात्मक रुपले लिने बास्तोलाले ट्राभल एजेन्सी त छँदैछ, उड्ययन पर्यटनमा थप नयाँ योजनाहरुमा पनि काम गरिरहेका छन्। ‘हामी अरु ‘डिपार्चर’ मोडलमा जाने तयारीमा छौं। तर हाम्रो उद्देश्य भनेको नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउने नेपाली तथा विदेशी सबैका कसरी हवाई टिकटमा सर्भिस दिन सकिन्छ, कसरी सुविधा र बढी प्याकेज दिन सकिन्छ भन्ने नै हो।’