पर्वत । नेपाली कांग्रेस पर्वत संगठन विभागले पूर्णता पाएको छ । सहसंयोजक र सदस्य सचिवसहित विभागका २१ जना सदस्यहरूलाई पार्टी सभापति युवराज जोशीले आज पदीय जिम्मेवारीको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जोशीले आफू १४ औँ अधिवेशनबाट निर्वाचित भएर आएपछि जिल्ला भित्रको सबै गुटगत राजनीतिको अन्त्य गर्दै एकतावद्ध कांग्रेस निर्माण गर्न कोशिस गरेको बताउनु भएको छ ।
सभापति जोशीले एउटै व्यक्तिको गुण/दोषका कारण मात्रै संगठन बलियो र कमजोर नहुने दावी गर्दै व्यक्तिकेन्द्रीत आलोचनाको पछि नलाग्न सबैलाई अपिल गर्नुभएको छ । उहाँले पार्टीभित्र केही समस्या भए बसेर समाधान खोज्न सकिने वताउँदै पार्टी हितमा आउने सबैका सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
सभापति जोशीले पछिल्लो समयमा पार्टीलाई दोष देखाएर पार्टी छाड्नेहरूको लहैलहैमा नलागी टोलटोलसम्म पुगेर कार्यकर्ताको भावना बुझेर संगठन सुदृढीकरणमा लाग्न विभागका सबै सदस्यहरूलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी उपसभापति डाक्टर चूडामणि शर्माले पछिल्लो समय पार्टीमा आएको विचलन पर्वतमा मात्रै नभएर देशभरिकै समस्या भएको वताउँदै पार्टीमा देखिएको समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने आवश्यकता औंलाउनु भयो । उहाँले वर्तमान नेतृत्वले सबैलाई समेटेर अघि बढ्न तयार रहेको वताउँदै पार्टी रूपान्तरणको यो अभियानमा विगतका कुण्ठा र वैमनस्यता त्यागी एकतावद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा अर्का उपसभापति शिवप्रसाद सुवेदीले नेतृत्वलाई मात्रै दोषारोपण गरेर पार्टी बलियो नहुने भन्दै आ-आफ्नो जिम्मेवारी र कर्तव्यलाई सबैले पालना गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पार्टी सचिव गुप्तनिधि शर्माले नेपाली काँग्रेसले विभिन्न कारणले संगठनको भूमिकाबाट विमुख साथीहरूलाई यथोचित जिम्मेवारी दिएर पार्टीमा गोलबद्ध गरिरहेको वताउँदै भोलिका दिनमा पार्टीलाई अझै गतिशील र चुस्त बनाउन सबैका सुझाव र सल्लाहलाई आत्मसात गरिने प्रतिबद्धता जनाउनुभएको थियो । अर्का सचिव अशोक उचै ठकुरीले संगठनमा देखिएको विचलन र अविश्वासलाई समीक्षा गरेर काँग्रेसभित्र सबैलाई आकर्षित गर्ने कार्ययोजनाका साथ संगठन विभागले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टी सहसचिव एवं संगठन विभागका संयोजक तिलकप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मा घायल, संगठन विभागका सहसंयोजक गणेशबहादुर क्षेत्री र संगठन विभागका सदस्य सचिव कमलबहादुर अधिकारी लगायतले बोल्नुभएको थियो ।
विभागको पहिलो बैठकले पार्टी नेता भवानीशंकर पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छभने निकट भविष्यमै पार्टीका सबै तहका नेताहरुसँगको सामुहिक बैठक बस्ने र काँग्रेसको संगठन शुद्धिकरण, सुदृढिकरण र रूपान्तरणका लागि नयाँ कार्यदिशा बनाउने निर्णय गरेको संयोजक तिलकप्रसाद भुसालले जानकारी दिनुभयो ।
संगठन विभागमा जलजलाबाट थलराम पौडेल, चन्द्रबहादुर केसी र अनिता मल्ल केसी, कुश्माबाट मिनबहादुर वस्याल, दामोदर पौडेल दिपक, अनिता सापकोटा र दुर्गाबहादुर बस्याल, मोदीबाट राम पुन र विज्ञान मल्ल, फलेवासबाट लिला गौंडेल र दुर्गाराज सुवेदी, विहादीबाट गोविन्दप्रसाद पाध्या र रोशन तिवारी, पैयुँबाट पिताम्बर न्यौपाने र अरूण तमु, महाशीलाबाट पुस्कर लोहनी, गीता राना र रामबहादुर रेग्मी रहनुभएको संगठन विभागका सदस्य सचिव कमलबहादुर अधिकारीले जानकारी दिनुभयो ।