काठमाडौँ, १४ फागुन रासस
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ । सहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनको क्रममा घाईत भएकाहरुको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उहाँले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ ।
जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको सम्बद्र्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।” आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाउनुभयो । “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्रिबाट एमाले खेदिएको छ । मिचिएको भूभाव फिर्ता गर्दा घेरावन्दीमा परेको छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले अहिले पनि विभिन्न प्रतिक्रियावादी शक्तिहरुले चलखेल गरिरहेको भन्दै त्यसलाई जनताले परास्त गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भएपनि पीडितहरुले अझै न्याय पाउन नसकेको भन्दै सहिद, वेपत्ता र घाईते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न आन्दोलनका घाईतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि उल्लेख गर्नुभयो । एक अर्को प्रसङ्गमा एमाले अध्यक्ष ओलीले ‘आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरेर इन्जिेक्सन दिई, मलम लगाएर पुस १० गतेको गठबन्धन बनाएको भनी ब्यङ्ग गर्दै हुनेकुरा भइसकेकाले अब चिन्ता गरेर अर्थ नहुने तर्क गर्नुभयो । उहाँले नेपालमा थुप्रेखाले आन्दोलनबाट धेरै संख्यामा सहिद र बेपत्ता भएको भन्दै सरकारले उनीहरुको पहिचान र पीडितलाई राहत दिनुपर्ने धारणा राख्नुभयो । स्वार्थ र धोकाको राजनीति बढिरहेको र यसले कसैलाई फाइदा नपुग्ने बताउनुभयो ।
तर त्यो स्वार्थी शक्तिको को हो भनेर उहाँले खुलाउनुभएन । देशका लागि लडेका योद्धा सहिदको सफना साकार पार्न सबै लाग्नुपर्नेमा उहाँको जोड थियो । संस्थाको सुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रसंशा गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षय कोषका लागि रु दुई लाख सहयोगको घोषणा गर्नुभयो । संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले विभिन्न राजनीतिक सामाजिक आन्दोलनका सहिद परिवार र घाईतेहरुको सम्मानमा थोरै भएपनि राहत पु¥याउने उद्देश्यले संस्थाले पहल लिएको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक र सामाजिक आन्दोलनमा सहिद भएका परिवार र घाइतेहरुलाइ सम्मान गरिएको थियो । संस्थाको तर्फबाट एमाले अध्यक्ष ओलीले नगदसहित कदरपत्रबाट सम्मान गर्नुभएको हो ।
सम्मानीत हुनेमा सहिद परिवारतर्फ विशेस्वरा दाहाल, गोमा देवकोटा, कमला सुवेदी, शान्ति पाखिन, सरिता अधिकारी, तीर्था गौतम, देवी सुनार तथा घाइतेहरुमा कृष्ण अधिकारी, चित्रबहादुर घर्तिलगायत रहनुभएको छ । जनवादी कलाकार जीवन शर्माले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । विशेष प्रस्तुतीको रुपमा किशोर अनुरागको निर्देशन रहेको ‘सपना’ नाटक प्रस्तुती गरिएको थियो । भने करातेँ खेलाडीको खेल कौशल पनि प्रस्तुत गरिएको थियो ।