काठमाडौँ, १५ मङ्सिर (रासस) :
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभयो ।
“अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उहाँले भन्नुभयो, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पार्नुभयो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उहाँको भनाइ छ ।
“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उहाँले भन्नुभयो, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”---
अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभयो ।
बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताउनुभयो । “समस्या समाधानका लागि हामी खुला छौँ”, उहाँले भन्नुभयो, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताउनुभयो ।
–––