पोखरा । एभरेष्ट बैंकले आफ्नो १२२ औँ शाखा पोखराको बिरौटामा स्थापना गरेको छ । ग्राहकलाई अध्याधुनिक बैंकिङ सेवा प्रदानका लागि उक्त शाखा बिहीबार उद्घाटन गरिएको हो ।
उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह-महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक-प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
अर्थविद डा. गणेश गुरुङ्गले पञ्जाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेकोको अवस्थामा यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्ने बताए ।
उनले यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने बताए। योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगेको छ ।
यस बैंकका हालसम्म १२ लाख ग्राहक रहेका छन् । देशैभरी १२२ शाखा, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र १५७ एटिएम रहेका छन् ।