धनुषा, ४ वैशाख
मिथिलाको प्राचीन धार्मिक नगरी जनकपुरधाम पुनः एकपटक आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिने तयारीमा छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ। यही वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यो महोत्सव केवल धार्मिक अनुष्ठानमा सीमित नरही मिथिला सभ्यताको गहिरो सांस्कृतिक जरा, सामाजिक एकता र आध्यात्मिक ऊर्जा पुनर्जीवित गर्ने अवसरका रूपमा स्थापित हुँदै आएको छ।
जनकपुरधामका हरेक गल्ली, मठमन्दिर र पोखरीहरूमा धार्मिक इतिहासको सुगन्ध फैलिएको छ, त्यही भूमिमा अवस्थित जानकी मन्दिर यस उत्सवको केन्द्रविन्दु हो। माता जानकी अर्थात् सीताको जन्मभूमिका रूपमा चिनिने यस स्थलमा आयोजना हुने जन्मोत्सवले बर्सेनि हजारौँ श्रद्धालु, साधुसन्त, पर्यटक र सांस्कृतिक अध्येता आकर्षित गर्ने गरेको छ। यस वर्षको महोत्सव पनि त्यही परम्परालाई निरन्तरता दिँदै अझ व्यापक र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने तयारी गरिएको छ।
मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवका अनुसार यो महोत्सव केबल धार्मिक आस्थाको विषयमात्र होइन, मिथिलाको समृद्ध सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने एउटा महत्त्वपूर्ण माध्यम हो। उहाँका अनुसार यस्ता पर्वहरूले समाजलाई एकतामा बाँध्ने, आपसी सद्भाव बढाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराप्रति सचेत गराउने काम गर्छन्। यही भावनालाई आत्मसात् गर्दै महोत्सवको कार्यक्रमहरू तयार पारिएको छ। मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले पनि यस उत्सवले धर्मको सीमाभन्दा माथि उठेर सम्पूर्ण समुदायलाई जोड्ने सेतुको काम गरेको बताउनुहुन्छ। उहाँका अनुसार यस महोत्सवमा सहभागी हुनु केवल धार्मिक कर्तव्यमात्र होइन, सांस्कृतिक जिम्मेवारी पनि हो।
महोत्सव अवधिभर दैनिक रूपमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन्। प्रत्येक दिन अपराह्न ४ः०० बजेदेखि मन्दिर प्राङ¬्गणमा श्रीराम कथावाचन गरिने कार्यक्रम तय गरिएको छ। यस कार्यक्रममा देश तथा विदेशबाट आएका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। रामकथाले भगवान् राम र माता सीताको जीवनदर्शन, आदर्श र नैतिक मूल्य मान्यताहरूलाई जनमानसमा पुनः स्मरण गराउने विश्वास लिइएको छ।
त्यस्तै, साँझ ७ः०० बजेदेखि मन्दिरको गर्भगृहमा जन्म बधाई गान तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। यी कार्यक्रमहरूमा मिथिलाको मौलिक झल्को दिने नृत्य, गीत, भजन तथा झाँकीहरू प्रस्तुत गरिनेछन्। विशेषगरी युवापुस्तालाई लक्षित गरी उनीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। यसले नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति गर्वको भावना जागृत गराउने अपेक्षा गरिएको छ।
महोत्सवको अर्को महत्त्वपूर्ण आकर्षणका रूपमा अखण्ड रामायण पाठ रहनेछ । मन्दिर प्राङ्गणमा सञ्चालन हुने यस पाठमा श्रद्धालुहरू दिनरात सहभागी भई आध्यात्मिक शान्ति र आत्मिक सन्तोष प्राप्त गर्न सक्नेछन्। निरन्तर रूपमा हुने रामायण वाचनले वातावरणलाई भक्तिमय बनाउँदै सहभागीहरूलाई ध्यान र साधनामा केन्द्रित गराउने विश्वास गरिएको छ।
वैशाख १२ गते महोत्सवको मुख्य दिनका रूपमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन्। बिहान ५ः३० बजे दुधमती शाही स्नानका लागि भव्य शोभायात्रा जानकी घाटतर्फ प्रस्थान गर्नेछ। यस शोभायात्रामा बाजागाजा, धार्मिक ध्वजापताका र झाँकीहरूले वातावरणलाई उत्सवमय बनाउनेछन्। शाही स्नानलाई अत्यन्त पवित्र मानिन्छ, जसमा सहभागी हुँदा पापक्षय हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। दिउँसो १२ बजे जन्म आरती तथा बधाई गान सम्पन्न हुनेछ। आरतीको दृश्य, घण्टानाद, मन्त्र उच्चारण र भक्तजनहरूको सहभागिताले सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जाले भरिनेछ। यो क्षणलाई महोत्सवको चरम बिन्दुका रूपमा लिइन्छ।
त्यसै दिन अपराह्न ४ः०० बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकालिनेछ। यो शोभायात्रा मिथिलाको परम्परागत शैलीमा सजाइनेछ, जसमा विभिन्न झाँकीहरू, लोकनृत्य, बाजागाजा र धार्मिक प्रस्तुतिहरू समावेश हुनेछन्। यसले केवल धार्मिक महत्वमात्र होइन, सांस्कृतिक विविधताको प्रदर्शन पनि गर्नेछ। स्थानीयवासी, कलाकार र विभिन्न सङ्घसंस्थाको सहभागिताले शोभायात्रालाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ। साँझ ७ः३० बजे आयोजना गरिने विशेष आरती तथा दिपोत्सव कार्यक्रममा मन्दिर परिसर हजारौँ दीपहरूले उज्यालो बनाइनेछ, जसले शान्ति, आशा र सकारात्मकताको सन्देश प्रवाह गर्नेछ।
महोत्सवलाई सफल र व्यवस्थित बनाउन आयोजकहरूले सुरक्षा, सरसफाइ, यातायात तथा श्रद्धालुहरूको सुविधामा विशेष ध्यान दिएका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न स्वयंसेवी संस्थाहरूको सहकार्यमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। भीड व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइको उचित व्यवस्था मिलाइएको जनाइएको छ।
स्थानीयवासीहरूमा महोत्सवप्रति उत्साह र उमङ्ग उच्च देखिएको छ। उनीहरूका अनुसार यस्ता पर्वहरूले जनकपुरधामको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। साथै, यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गर्दछ। होटल, यातायात, हस्तकला, खाद्य व्यवसायलगायत विभिन्न क्षेत्रहरूमा चहलपहल बढ्नेछ।
मिथिलाको सांस्कृतिक सम्पदा, जसमा मैथिली भाषा, लोककला, परम्परागत पोशाक, विवाह संस्कार र धार्मिक अनुष्ठानहरू समावेश छन्, यस्ता महोत्सवहरूकै माध्यमबाट संरक्षण र प्रवर्द्धन हुँदै आएको छ। जानकी जन्म महोत्सवले यस सम्पदालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वपूर्ण कार्य गरिरहेको छ।
आजको आधुनिक र व्यस्त जीवनशैलीमा मानिसहरू आफ्नो मौलिक संस्कृति र परम्पराबाट टाढिँदै गएको सन्दर्भमा यस्ता महोत्सवहरूले पुनः आफ्नो पहिचानतर्फ फर्काउने अवसर प्रदान गर्छन्। यसले केवल धार्मिक आस्थामात्र होइन, सामाजिक समानता, सहिष्णुता र आपसी सम्मानलाई पनि बलियो बनाउने कार्य गर्दछ।
पछिल्लो समय जानकी जन्म महामहोत्सवलाई केवल एउटा धार्मिक कार्यक्रमको रूपमा मात्र नभई मिथिलाको आत्मा, इतिहास र सांस्कृतिक चेतनाको उत्सवका रूपमा लिन थालिएको छ। यसले समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्दै एकता, सद्भाव र आध्यात्मिक उन्नतिको मार्गमा अग्रसर गराउने विश्वास गरिएको छ। जनकपुरधाममा आयोजना हुने यो महोत्सवले फेरि एकपटक सम्पूर्ण मिथिला क्षेत्रलाई आस्था र संस्कृतिको उज्यालोमा डुबाउने निश्चित छ। निरञ्जनकुमार साह/रासस