काठमाडौँ, ३ वैशाख
काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई) अर्थात कृतिम बुद्धिमताले जागिर खाइदिन्छ? यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन्। नेपालका लागि असली खतरा एआई होइन—असली खतरा एआईको युगमा पनि पुरानो शीपमै अडिइरहनु हो। जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग, अवसरको हो। जसले आँखा चिम्लेर बस्छ, उसका लागि यो युग, विस्थापनको समय बन्न सक्छ।
प्रश्न “के एआईले जागिर खान्छ ?” भन्ने होइन। प्रश्न हो—“के म एआईसँगै अगाडि बढ्न तयार छु ?” एउटा उदाहरण हेरौँ, एउटा सफ्टवेयर कम्पनीमा काम गर्ने एक व्यक्ति गत वर्षसम्म कन्टेन्ट राइटरको रूपमा समेत कार्यरत थिए । दिनभरि ब्लग पोस्ट, प्रोडक्ट डेस्क्रिप्सन, र मार्केटिङ कपी लेख्ने उनको काम अचानक आधा भयो—कम्पनीले च्याटजीपीटी, जेमिनाई, क्लाउडजस्ता जेनेरेटिभ एआई टुल प्रयोग गर्न थालेपछि उनको काम सँगै कमाई पनि घट्यो। पहिले पाँच जना राइटरको काम अहिले एआई जानेका दुईजनालाई पनि पुगेन।
यो एक जना व्यक्तिको मात्र कथा होइन, यो एउटा युगको सुरुवात हो अर्थात एआईको युग। एआईका कारण काममा धेरै सजिलो भएको छ। घण्टौ लाग्ने काम मिनेटमै सकिने भएको छ। पाँचजनाले गर्ने काम एक जनाले सक्न थालिएको छ। जटिल समस्या सहजै समाधान गर्न सकिने भएको छ । जीवन झन् सहज बनाउन एआई एउटा युगान्तकारी प्रविधिका रुपमा उदाएको छ।
संसारभरि के भइरहेको छ ?
विश्व आर्थिक मञ्चको अनुमान अनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन्। मञ्चको सन् २०२५ को ‘फ्युचर अफ जब्स रिपोर्ट’ अनुसार विश्वभरि ४१ प्रतिशत जागिर प्रदायकहरुले अर्को पाँच वर्षमा एआई स्वचालनका कारण जनशक्ति घटाउने योजना बनाइसकेका छन्। उनीहरू पाँच वर्ष कुर्ने छैनन् किनकी परिवर्तन अहिले नै हुन थालेको देखिन्छ।
सन् २०२५ को पहिलो छ महिनामा मात्रै ७७ हजार नौ सय ९९ प्रविधिसम्बन्धी जागिर गुमेका थिए। गोल्डम्यान स्याक्सका अनुसार एआईले विश्वभरि ३० करोड जागिर प्रभावित गर्न सक्छ, जुन विश्वको कुल रोजगारको ९.१ प्रतिशत हो।
कस्ता जागिर सबैभन्दा बढी जोखिममा छन् ?
पेनसिल्भानिया विश्वविद्यालय÷ओपन एआईका अनुसन्धानकर्ताका अनुसार वार्षिक ८० हजार डलरसम्म कमाउने उच्च शिक्षित वाइटकलर जब्स स्वचालनको सबैभन्दा बढी जोखिममा छन्। एआईको बढदो प्रयोगले दोहोरिरहने र नियममा आधारित जागिर जोखिममा पर्ने छन्। डाटा इन्ट्री, कलसेन्टर, ग्राहक सेवा, कन्टेन्ट राइटिड, अनुवाद, उद्योगमा दोहोरिरहने कार्य, ग्राफिक डिजाइन, सफटवेयर प्रोगामिङ र लेखा क्षेत्रका जागिर जोखिममा पर्ने छन्।
एक अध्यनका अनुसार बैंकिङमा ५४ प्रतिशत जागिरमा एआई स्वचालनको उच्च सम्भावना छ। कानुनी क्षेत्रमा पारालिगलहरूले सन् २०२६ सम्ममा ८० प्रतिशत जोखिम सामना गर्नुपर्ने अनुमान छ। स्वास्थ्य क्षेत्रमा मेडिकल ट्रान्सक्रिप्सन स्वचालित भइसकेको छ। ब्लुमबर्गको अनुसन्धान भन्छ कि एआईले बजार अनुसन्धान विश्लेषकका ५३ प्रतिशत र बिक्री प्रतिनिधिका ६७ प्रतिशत कार्यहरू प्रतिस्थापन गर्न सक्छ। सेल्सफोर्सका सिइओ मार्क बेनियफका अनुसार एआईले अहिले कम्पनीको आधा काम सम्हाल्न थालेको छ। यसकारण उनले चार हजारभन्दा बढी ग्राहक सेवा कर्मचारी घटाएका छन्। बिएम कम्पनिले सयौँ मानव संशाधन भूमिकाहरू एआई च्याटबोटले प्रतिस्थापन गरेको छ।
सन् २०२५ को सुरुदेखि नै एआई–प्रभावित क्षेत्रमा काम गर्ने २० देखि ३० वर्षका युवाहरूमा बेरोजगारी झण्डै तीन प्रतिशत बिन्दुले बढ्यो। एआईले पाँच वर्षभित्र आधा प्रवेश स्तरका बौद्धिक मानिने ‘वाइट कलर’ जागिर हटाउन सक्ने एन्थ्रोपिकका सिइओ डारियो अमोडेईले कठोर भविष्यवाणी गरिसकेका छन्।
एआईले जागिर बढाउँछ
निष्पक्ष विश्लेषणका लागि यो पक्ष पनि हेर्नु जरुरी छ। विशेषज्ञहरूका अनुसार एआईका कारण जागिर गुम्ने भन्दा सिर्जना हुने सङ्ख्या बढी हुनेछ। विश्व आर्थिक मञ्चको अनुमान अनुसार सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन् तर एआईकै कारण १७ करोड नयाँ जागिर सिर्जना हुनेछन्। विश्वमा सात करोड ८० लाख जागिरको शुद्ध वृद्धि हुनसक्छ अर्थात एआईको बजार प्रभाव समग्रमा सकारात्मक हुनसक्छ। एआई इन्जिनीयर भूमिकाहरूमा १४० प्रतिशतभन्दा बढी माग वृद्धि भइरहेको छ।
औद्योगिक क्रान्तिले मिलमा काम गर्नेहरूलाई विस्थापित गर्यो तर त्यसले थप उद्योगहरू र थप रोजगारी पनि सिर्जना गर्यो। सन् १९७० को दशकमा कम्प्युटर क्रान्तिले धेरै रोजगारी विस्थापन गर्दा त्यो भन्दा बढी रोजगारी बढेको हामीले देखे भोगेकै हो। ३० वर्षको अन्तरमा कम्प्युटर दैनिक जीबनको हिस्सा बन्यो। सन् २०२७ सम्ममा भारतमा मात्र २३ लाख एआईसम्बन्धी नयाँ जागिर खुल्ने प्रक्षेपण गरिएको छ। त्यसैले एआई क्रान्तिले पनि रोजगार विस्थापन भन्दा बढाउने अवस्था छ।
एक अध्ययनका अनुसार एआई सीपहरू भएका पेशेवरहरूले उही भूमिकामा सीप नभएका साथीहरूको तुलनामा ५६ प्रतिशतसम्म बढी तलब पाउँछन्। यो तथ्याङ्कले एआईसँग लड्न खोज्नुभन्दा एआई सिक्नु लाभदायक छ भन्ने एउटा स्पष्ट सन्देश दिन्छ। नेपाली फ्रिल्यान्सरहरूका लागि एउटा अभूतपूर्व अवसर खुलेको छ, सही उपकरणहरूसहित विराटनगरको एक डेभलपर वा पोखराको एक डिजिटल मार्केटरले अमेरिका वा युरोपमा उच्च पारिश्रमिकका लागि प्रतिस्पर्धा गर्न र विदेशी मुद्रा नेपाल ल्याउन सक्छन्।
नेपालको अवस्था के छ ?
नेपाललाई यो प्रश्नले फरक तरिकाले छुन्छ। हाम्रो अर्थतन्त्र कृषि, पर्यटन र रेमिट्यान्समा आधारित भएकाले प्रत्यक्ष खतरा तत्काल महशुस नहुन सक्छ तर अप्रत्यक्ष असर गहिरो हुनेछ। नेपालका ६० प्रतिशतभन्दा बढी श्रमिक कृषि वा म्यानुअल कामहरूमा छन्, जसले एआई–प्रेरित जोखिम तत्काललाई सीमित राख्छ। तर बलियो डिजिटल सीप र क्षमताबिना नेपाल उच्च मूल्यको वैश्विक अर्थतन्त्रमा पछाडि पर्न सक्छ।
नेपालमा पूर्णकालीन नियमित जागिर तीव्र रूपमा घटेका छन् भने आउटसोर्स र करार कामहरू उल्लेखनीय रूपमा बढेका छन्। नेपालको विपिओ (बिजनेस प्रोसेस आउटसोर्सिङ) क्षेत्र विशेष रूपमा संवेदनशील छ। नेपालको अर्थतन्त्र सेवा क्षेत्र, बिओपी र प्रशासनिक भूमिकाहरूमा भारी निर्भर छ—यी नै क्षेत्र स्वचालनका लागि सबैभन्दा बढी उपयुक्त छन्।
नेपालमा सरकारले सन् २०२४–२०३४ लाई सूचना प्रविधिको दशक घोषणा गरेको छ। यसमा १५ लाख नयाँ प्राविधि जागिर र दशकभित्र ३० खर्ब नेपाली रुपैयाँको आइटी सेवा निर्यात गर्ने लक्ष्य राखेको छ। यो महत्वाकांक्षी लक्ष्य हो तर यसका लागि एआईलाई चुनौतीको रूपमा होइन, अवसरको रूपमा बुझ्नुपर्छ।
सरकारले के गरिरहेको छ ?
नेपाल सरकारले राष्ट्रिय एआई नीति २०८२ आधिकारिक रूपमा अनुमोदन गरिसकेको छ। यो ढिलै भए पनि देशको डिजिटल रूपान्तरण यात्रामा एक महत्वपूर्ण उपलब्धि हो। यो नीतिले स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक प्रशासन क्षेत्रमा एआईको रणनीतिक एकीकरणको कल्पना गरेको छ। नेपाल सरकारले पाँच वर्षभित्र एआई क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने लक्ष्य राख्दै एआईसम्बन्धी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो। यो नीतिले अन्तरराष्ट्रिय आधारभूत सिद्धान्त र प्रचलनसँग अनुकूल हुने गरी एआईको अनुसन्धान, विकास र प्रयोगलाई दिशानिर्देश गर्न नेपालमा एआई नियमन परिषद् स्थापना गर्ने रणनीति लिएको छ।
एआईलाई आर्थिक तथा सामाजिक क्षेत्रमा अधिकतम उपभोग गर्ने प्रतिबद्धतासहित उक्त नीतिमा विश्वव्यापी सूचकाङ एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५०औँ स्थानभित्र पु¥याइने उल्लेख गरिएको छ। नीतिले एआईका कारण सम्भावित जागिर गुम्ने स्थितिलाई व्यवस्थापन गर्न र यसका सामाजिक तथा आर्थिक परिणामलाई सम्बोधन गर्न संयन्त्र स्थापना गर्ने कुरा पनि उल्लेख गरेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले एआईले नेपालको विकासलाई अवसर र चुनौती दुबै दिने बताएको छ। एआईलाई मानव–केन्द्रित तथा क्षमता स्वचालित गर्नभन्दा बढाउने दिशामा विकास गर्नु जरुरी छ भन्ने कुरामा युएनडिपीले जोड दिएको छ। समग्रमा एआईले जागिर खाने नभएर पहिलेको भन्दा बढी जागिर उत्पादन गर्छ भन्न सकिन्छ। यसले दोहोरिने, यान्त्रिक कामहरू हटाउँछ तर यसले मानवीय रचनाशीलता, सहानुभूति र जटिल निर्णय–क्षमता प्रतिस्थापन गर्न सक्दैन ।लिलाराज भट्टराई (रासस)