काठमाडौँ, ३० भदौ
राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
जितिया पर्व विशेष गरी तराईका थारु, मधेशी तथा अन्य केही समुदायका महिलाले आफ्ना सन्तान र परिवारको दीर्घायु, स्वास्थ्य, सफलता र समृद्धिको कामना गर्दै भगवान जिमुतवाहनको पूजा–आराधना गरेर मनाउने परम्परा रहेको छ। आश्विन कृष्ण अष्टमीका दिन कठोर उपवास बस्ने, शरीर,मन,आत्माको शुद्धि गर्ने र विभिन्न परिकार बनाएर खाने–खुवाउने प्रचलन प्राचीन कालदेखि चल्दै आएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक पर्वहरूले समाजलाई आपसी सद्भाव, सहिष्णुता, पारिवारिक एकता र संस्कृतिको संरक्षणमा जोड दिएको उल्लेख गर्नुभएको छ।
उहाँले जितिया पर्वले आपसी श्रद्धा, आस्था र सहअस्तित्वलाई बलियो बनाउँदै सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।