पर्वत: अन्तर्राष्ट्रिय पर्वत समाजले फलेवास नगरपालिकामा असोज २२ गते हुने पाँचौँ अधिवेशनको तयारी तिव्र पारेको छ। संसारका विभिन्न देशमा रहेका पर्वतवासीहरूको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाज नेपालका संयोजक मुना भुसालको अध्यक्षतामा पूर्वतयारी बैठक भदौ १५ गते सम्पन्न भएको हो।
अधिवेशन व्यवस्थित र सफल बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको छ। संयोजक मुना भुसालको नेतृत्वमा ११ वटा उपसमिति गठन गरिएका छन्। सह–संयोजकमा नवीनकुमार श्रेष्ठ, अतिथि सत्कारमा निर्मला भुसाल केसी, खाना–आवासमा अर्जुन श्रेष्ठ, मञ्च व्यवस्थापनमा जनक भुसाल, साउन्ड सिस्टममा कृष्ण अखेली, आमा समूह झाँकी र्याली संयोजक सोनम क्षेत्री, पत्राचार–प्रचारमा सिर्जना बराल, स्थानीय संस्कृति संयोजक भरत श्रेष्ठ, यातायात परिचालन संयोजकमा हिटलर थापा रहनुभएको छ।
पूर्वतयारी बैठकका प्रमुख अतिथि फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले विदेशमा कर्मथलो बनाए पनि स्वदेशमा सहयोग र योगदान गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै पाँचौँ अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षलाई साथ दिन आग्रह गर्नुभएको थियो।
सो अवसरमा उपमेयर शोभा क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ठाकुर भुसाल, युवा नेता तथा पर्वत अस्पतालका पूर्वअध्यक्ष शंकर गिरी, फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद शर्मा, वडा अध्यक्ष मनबहादुर कुँवर, नवीनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल प्रतिनिधि मुना भुसालले अधिवेशनको तयारीबारे जानकारी दिँदै सबैको सहयोगले कार्यक्रम भव्य र सफल हुने विश्वास व्यक्त गर्नुृभयो। कार्यक्रममा पत्रकार, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम पत्रकार विष्णु गौतमले सञ्चालन गर्नुभएको थियो।
समाजका अध्यक्ष गुणराज पौडेलका अनुसार अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्याइँदै छ।