काठमाडौं,१३ साउन
श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। वैदिक सनातन परम्पराअनुसार नागदेवताको पूजा गर्दै यो पर्व घर–घरमा तथा विभिन्न नागस्थानहरूमा उल्लासपूर्वक मनाइन्छ।
काठमाडौं उपत्यकाको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका प्रमुख नागदह, नागस्थान र कुण्डहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। पूजाका सामग्रीसहित आएका भक्तजनहरू नागदेवतालाई दूध, जल, अक्षता, दूबो, खीर र रोटी चढाउँदै पूजा अर्चना गरिरहेका छन्।
नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागहरूको पूजा गरिन्छ। परम्पराअनुसार ब्राह्मण पुरोहितमार्फत विधिपूर्वक पूजापाठ गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने चलन रहिआएको छ।
धार्मिक विश्वास अनुसार, नाग पूजाले सर्प, बिच्छी जस्ता जीवजन्तुबाट हुने त्रास कम हुने, साथै अग्नि, चट्याङ र प्राकृतिक प्रकोपबाट जोगिने विश्वास गरिन्छ। नागहरूलाई जलका संरक्षक मानिने भएकाले उनीहरूको पूजा गर्दा वर्षा र समृद्धिको कामना गरिन्छ।
यस दिन खेतबारी जोत्न, खन्न वा नाग प्रजातिका जीव मार्न नहुने धार्मिक मान्यता रहेको छ। वैदिक कालदेखि सुरु भएको यो परम्पराले सांस्कृतिक महत्वसमेत बोकेको छ।