काठमाडौँ । आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिव सेवा लम्सालको जोड रहेको छ।
नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव लम्सालले सो कुरामा जोड दिनुभएको छ ।
उहाँको अध्यक्षतामा मंगलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरिएको थियो ।
उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत-साधनको व्यवस्थापनबारे विस्तृत रूपमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा परराष्ट्रसचिवबाट डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सचिव लम्सालले निर्देशन दिनुभयो ।
साथै, श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताउँदै उनले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक लाग्न निर्देशन दिनुभयो ।