काठमाडौँ : राष्ट्रियसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा उहाँहरुले बजेट सहीरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले बजेट कार्यान्वयनका लागि इमान्दारिताको आवश्यकतापर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “इमान्दारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ ।”
राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले राजनीतिक दल मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । फास्ट ट्र्याकमा ऐन बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । सांसद ढुङ्गानाले सबै काम छाडेर सङ्घीयतालाई बलियो बनाउन ऐन कानुन निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “अव गणतन्त्रलाई बलियो बनाउन सबै सजग र सचेत तथा संवेदनशील हुनुपर्छ,” उहाँले भन्नुभयो ।
सांसद गोमादेवी तिमल्सिनाले हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको भन्दै यसबापत राहत पाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विभिन्न कारणले सञ्चालनमा आउन नसकेका रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउनुपर्ने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद राधेश्याम पासवानले संविधानमा व्यवस्था भएको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नारायदत्त भट्टले मनसुन नजिकिँदै गर्दा यस वर्षको मनसुन अवधिमा १८ लाख मानिस बाढीपहिरोबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्दै क्षति न्यूनीकरण गर्न पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो ।
सांसद गोपाल भट्टराईले भूकम्पबाट भत्किएका घर पुनःनिमाणको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गाकुमारी बेल्बासेले ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको र उहाँहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । “ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा हुनुपर्छ, उहाँहरुको स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्छ,” उहाँले भन्नुभयो । (रासस)