भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् ।
सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
आज हस्तान्तरण गरिएका १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम ९पश्चिम० पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । त्यसै अनुरुप आइतबार विभिन्न दुर्गम जिल्लाका स्थानीयलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ ।
अर्थमन्त्री पुनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए । उनँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको उल्लेख गरे । उनले भारत सरकारले विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको लागि ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स प्राप्त भएको बताए ।
अर्थमन्त्री पुनले भारत सरकारको यस्तो सहयोग परियोजनाले दुई देशबीचकोे सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।