काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी दिएका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु लगायतका नाकाहरू सञ्चालनमा आइसकेको भन्दै अन्य १४ वटा नाका खोल्न चीन तयार भएको जानकारी दिएका हुन् ।
"चीन भ्रमणका क्रममा कोरोना महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको छ," उनले भने ।
उनले यसबाट चीन सीमा नजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए । नेपाल–चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनको भनाई थियो ।
नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन आफूले अनुरोध गरेको भन्दै त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।
त्यसैगरी नेपालबाटतरकारी तथा फलफूल निर्यात सहजीकरणका लागि तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको पनि उनले जानकारी दिए ।
काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको मन्त्री श्रेष्ठको भनाई छ । चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि उनले जानकारी दिए ।