काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद विनोद चौधरीले बिहीबार करिब ३ घन्टा बयान दिएका छन् ।
माइतीघर मण्डलास्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा गएर उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरू र सो मुद्दा हेर्ने सरकारी वकिललाई बयान दिएका हुन् ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयर मार्फत ‘चौधरी समूह’ले जग्गा निजीकरण गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडको नामको १० रोपनी जग्गा हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा आएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडसँग पुँजी थोरै भएको तर, प्रविधि भएको हुनाले लगानी गर्न आग्रह गरेपछि चौधरी समूहले च्याम्पियन फुटवेरमा लगानी गरेको विनोद चौधरीले बयानमा बताएका छन् ।
च्याम्पियन फुटवेयरमा लगानी गर्दा जग्गा हडप्ने उद्देश्य नराखिएको चौधरीको जिकिर छ । बयानमा उनले भनेका छन्,‘त्यसबेला ठमेलमा १ लाखमा जग्गा आउँथ्यो, कानुन अनुसार जग्गा लिएको हुनाले हाम्रो गल्ती केही छैन ।’
ब्युरोका अधिकारी र सरकारी वकिलसँग चौधरीले ‘सहयोग गर्न आएको हुँ’ भनेका छन् ।
चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् । च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको छ ।
उनका कान्छो भाइ अरुण, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुरलाई प्रहरीले माघ १८ मा पक्राउ गरेर बयान लिएको थियो । जिल्ला अदालतको आदेशले उनिहरुले ‘हाजिर जमानी’मा रिहा भएका छन् ।