काठमाडौँ- सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, पूर्व उप-राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो।
सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर तिरेको नदेखिएको भन्दै पीडितहरुले सोमबार लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन्।
रविसहित केही व्यक्ति र संस्थाले पोखरास्थित सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उनीहरूमाथि उजुरी परेको हो।
यसअघि तीन पटक उजुरी हाल्न गएका पीडितहरुलाई प्रहरीले विवरण नपुगेको भन्दै फर्काएका थिए। सोमबार चौथो पटक विवरण जुटाएर गएपछि मात्रै प्रहरीले जाहेरी लिएको जाहेरीकर्ता मध्येका एक किरण श्रेष्ठले जानकारी दिए।
प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा अनुसन्धान गरेपछि एक-दुई दिनमा उजुरीलाई औपचारिक दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले वचन दिएको श्रेष्ठको भनाई छ।
सहकारीका बचतकर्ताहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, नेत्रपाणी बास्तोलालगायतका व्यक्तिहरू विरुद्ध जाहेरी दिएका हुन्।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले पीडितहरुले लामिछानेसहित १८ जनाविरुद्ध उजुरी परेको बताए। उनले भने, ‘पीडितहरुले जाहेरी बुझाउनु भएको छ। जाहेरी परे लगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ।’
यसअघि पीडितहरुले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राईसहित १९ जनाविरुद्ध जाहेरी दिएका थिए।
त्यसमध्ये प्रहरीले उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्ताल, सदस्य शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई पक्राउ गरेर अदालतमा पेश गरेका थियो।
अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको छ।