काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जिम्मेवारी सम्हालेलगत्तै नेपालका लागि रुसका राजदूत अलेक्सेई नोभिकभसँग सम्पर्क गरेर रुसी सेनामा अवैधरुपमा भर्ना भएका नेपालीलाई फिर्ता गराउने प्रक्रियामा सहयोग गर्न आग्रह गरेका थिए । तर, राजदूत अलेक्सेईले बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा जे जवाफ दिए, त्यसले नेपालीहरुलाई फिर्ता गर्न रुस अनिच्छुक रहेको प्रष्ट भएको छ ।
रुसी राजदूत अलेक्सेई बुधबार अर्थमन्त्री पुनलाई बधाइ दिन र आगामी लगानी सम्मेलनका विषयमा छलफल गर्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका थिए । भेटमा अर्थमन्त्री पुनले रुसी सेनामा कार्यरत नेपालीहरुको फिर्ती र मृतकको शव हस्तान्तरणसम्बन्धी प्रशंग पनि निकाले ।
नेपाली युवाको फिर्तीबारे राजदूत अलेक्सेईले अर्थमन्त्री पुनलाई दिएको जवाफ उल्लेख गर्दै पुनको सचिवालयले भन्यो,‘राजदूत नोभिकभले रुसले उनीहरुलाई बोलाएर भर्ती नगरेको बताए । भारत र दुबईस्थित विभिन्न मुलुकबाट अवैधरुपमा गएका नेपालीहरु स्वेच्छाले भर्ना भएको उनले बताए ।’
राजदूतको भनाइ थियो ‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ना भएका होइनन् ।'
रुसी राजदूतले अर्थमन्त्री पुनलाई सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे ।
यसैवीच, रुसी राजदूत अलेक्सेईले युक्रेनमा बन्द्यी बनाइएका नेपालीहरुलाई बन्दी साटासाट गरेर रुसले उद्धार गर्न सक्ने आश्वासन अर्थमन्त्री पुनलाई दिएका छन् । उनले भेटमा भने,‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरुसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ ।’