पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन्। पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।
आइतबार पोेखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण गरेर फर्कने क्रममा सहकारीका पीडितले भेटेर समस्या समाधानको माग गर्दै प्रधानमन्त्री दाहाल लाई ज्ञापन पत्र बुझाएका हुन ।
१ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ। पीडितले समस्या देखिएको १ वर्ष ८ महिनासम्म सरकारले कुनै पनि समाधानको उपाय नदिएको र बचतकर्ताको रकम फिर्ता नभएको गुनासो गरे ।
‘यत्तिका समयसम्म पीडितको पिरमर्का र माग प्रति उचित सुनुवाइ भएको छैन । सरकार मौन र व्यस्त छ । हाम्रो पीडा जस्ताको त्यस्तै छ,’ उनीहरूले भने, ‘संस्थासँग जोडिएका पीडित पोखरेली जनताको घरमा चुलो बलेको छैन, छोराछोरीको फिस तिर्न नसक्दा परीक्षा बाट वञ्चित हुनु परेको छ । परिवारमा सम्बन्ध विच्छेद सम्म हुन थालेको छ ।’
उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि हालसम्म ५ जना मात्रै पक्राउ परेका छन्।
पीडित बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए।