काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज सम्बोधन गर्दै युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।
कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए छन।
नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा नेपालको बढ्दो व्यापारघाटा तथा बेरोजगारीको समस्या सम्बोधन गर्न यस क्षेत्रको प्रमुख योगदान हुने कुरा आत्मसात गरी नीतिगत तथा प्रणालीगत सुधारको अधिकतम प्रयास गरिने विश्वास दिलाए ।
नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको बताए ।
उनले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पु¥याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।