फागुन ७ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् ।
सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले राजनीतिक परिस्थिति वा शान्तिप्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरू, राजनीतिक, वैचारिक वर्गसंघर्ष सबैलाई एकै ठाउँमा राखेर हेर्दा राष्ट्रिय स्वाधीनतामा अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा भएको बताए।
ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको भन्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको बताएका छन् ।
प्रचण्डले भने, ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरू जनताको मौलिक अधिकार हुनेछन् भनेर संविधानमा मौलिक अधिकारको प्रावधानमा त्यसलाई राखिएको पनि छ । त्यो आफैँमा महत्वपूर्ण कुरा पनि हो । अहिले हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको हुँदै समाजवादतिरको यात्रा गर्ने कुरा गरेका छौँ ।’
प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठीक छैन, समावेशी, समानुपातिकता ठीक छैन, शिक्षा सुधार ठीक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरेका छन् ।