काठमाडौँ – प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फोटो पत्रकारहरुलाई प्रवेशमा रोक लगाएकोप्रति राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले आपत्ति जनाएको छ ।
सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम मनाउन गठन गरिएको मूल समारोह समितिले निमन्त्रणा दिएका पत्रकारलाई मात्र प्रवेश दिने भन्दै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास प्राप्त पत्रकारलाईसमेत प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरेको थियो ।
एनएफपीजेका कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले एक विज्ञप्ति निकालेर प्रजातन्त्र आएको ७३ वर्ष भईसक्दा पनि यसरी पत्रकारहरुमाथि नै निषेध गर्नु ठिक नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
कार्यबाहक महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आईपुग्दा पनि पत्रकारले फोटो तथा भिडियो खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो रु कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो ।’
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफ
पिजे) फोटो पत्रकारहरुको साझा संगठन हो । देशैभरि छरिएर फोटो पत्रकारिता गरि रहेका फोटो पत्रकारहरु विगत २६ वर्षदेखि यही संस्थालाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध रहेका छन् । २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको कार्यबाहक महासचिव श्रेष्ठले बताएका छन् ।
आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन नेपाल फोटो पत्रकार समूहले सम्बन्धित निकायसँग माग गरेको छ ।