७ फागुन, काठमाडौं । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा समाचार सङ्कलनका लागि काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्च अगाडि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।
समाचार सङ्कलनमा पुगेका पत्रकारहरूले कार्यक्रमस्थलमा प्रवेश नपाएपछि सैनिकमञ्चको गेटमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।
समाचार सङ्कलनका लागि विशेष प्रवेश पास चाहिने भन्दै भित्र पस्न नदिएको पत्रकारहरूले बताएका छन् । यसअघिका कार्यक्रममा सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रले काम गर्ने गरेको थियो ।
उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ ।
फागुन ७ गतेकै जगमा टेकेर वि।सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि।सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो।
यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।