काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वको लक्ष्य भेट्टाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै महतले यस्तो निर्देशन दिएका हुन् ।
कर्मचारीलाई उच्च कर्तव्यनिष्ठताका साथ काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले भने, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’
उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए ।
‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ ।’ ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’
अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै उनले भने ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला । चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काको राम्रो समन्वय हुनुपर्छ ।’
मन्त्री महतले जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको बताए।
साथै, जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री मन्त्री महतले समस्याको सम्बोधन तुरुन्त गर्ने प्रतिवद्धता जनाए।