सहकारी ठगी प्रकरणमा मुुछिएका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौं प्रहरीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो ।
पूर्वडिआइजी जोशी पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईका व्यापारिक साझेदार हुन् ।
जोशीको घरबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ । जोशीले आफ्नै घरमा सञ्चालन गरेको नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयबाट उक्त सफ्टवेयरको सर्भर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उक्त सर्भरमा सहकारी सम्बन्धी महत्त्वपूर्ण विद्युतीय अभिलेखहरू हुनसक्ने कास्की प्रहरीले जनाएको छ। उक्त सर्भर लिनका लागि कास्कीबाट प्रहरी काठमाडौं पुगिसकेको एसपी थापाले बताए।
प्रहरीले सो प्रकरणमा मुछिएका जिबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।
सहकारी ठगी प्रकरणमा भविश्वर अर्याल, महेन्द्र भोटे भनिने शिव बहादुर गुरूङ, कुमार रम्तेल र कैलाश कुमार दर्लामी पुर्पक्षका लागि कास्की कारागामा थुनामा छन्।
पूरक अनुसन्धानका लागि भविश्वरलाई प्रहरीले कारागारबाट हिरासतमा ल्याएर अनुसन्धान गरिरहेको छ।
सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड रूपैयाँ अपचलन भएको पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।