दुइटा नागरिकता विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग एसएलसी प्रमाणपत्र पनि दुइटै रहेको प्रमाण सेतोपाटीलाई प्राप्त भएको छ। तीमध्ये कम्तिमा एउटा किर्ते बनाएको देखिन्छ।
प्रधानन्यायाधीश पराजुलीको नागारिकता र शैक्षिक प्रमाणपत्र विवाद धैरै अघिदेखि चल्दै आए पनि अहिले यो विषय सर्वोच्च अदालतकै छानबिन दायरामा छ।
डा. गोविन्द केसीविरुद्ध अवहेलना मुद्दा सुनुवाइपछि सर्वोच्च अदालतले पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ। अदालतको छानबिनमा बल पुगोस् भनेर केही सातादेखि सेतोपाटीले पराजुलीका शैक्षिक प्रमाणपत्र निरन्तर खोजी गरिरहेको छ। खोजी क्रममा उनीसँग एसएलसीका दुइटा प्रमाणपत्र रहेको तथ्य खुलेको हो।
पराजुलीको उमेर, शैक्षिक प्रमाणपत्र र नागरिकतासँग जोडिएको मुख्य प्रश्न उनले कुन विद्यालयबाट एसएलसी पास गरेका हुन् र एसएलसी पास गर्दा विद्यालय रेकर्डमा उनको उमेर कति थियो भन्ने हो। एसएलसी प्रमाणपत्रमा पराजुलीको जे उमेर छ, सिद्दान्तत: त्यही उमेर त्यसपछिका शैक्षिक प्रमाणपत्रमा कायम रहन्छ। नागरिकतामा पनि एसएलसी पढ्दाकै उमेर रहन्छ। यस्तो हुन्थ्यो भने उनको उमेर विवादमा पर्ने थिएन। सतहमा उनको नागरिकताको उमेरमा विवाद देखिए पनि मूल विषय शैक्षिक प्रमाणपत्रमा रहेका फरक उमेर हुन्। अझ एक तह गहिरिएर हेर्ने हो भने, उनका शैक्षिक प्रमाणपत्र सही हुन् वा नक्कली भन्ने मूल विषय हो।
प्रकाशित मिति:
सोमबार, भदौ २२, २०७७, १२:३९:१८