उद्योग विभागको तथ्यांकले नेपालको पर्यटन तथा सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको धेरै आकर्षण रहेको देखाएको छ । कतिपय देशका लगानीकर्ता पर्यटन र सेवा क्षेत्रमा मात्रै लगानी गर्न चाहन्छन् ।
चालु आर्थिक वर्षको नौ महिनामा १४ देशका लगानीकर्ताले नेपालमा उद्योग दर्ता गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यो वर्ष विदेशी लगानी प्रस्तावमा सुधार आएको छ ।
लगानीकर्तामा चिनियाँ लगानीकर्ता अग्रपंक्तिमा छन् । विभागका अनुसार कुल वैदेशिक लगानी प्रस्तावको ७३.२१ प्रतिशत चिनियाँ व्यवसायीले ओगटेका छन् । चीनपछि स्पेन दोस्रो ठूलो लगानीकर्ता हो । यसका साथै फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, भियतनाम र बेलायतबाट पनि लगानीको प्रस्ताव आएको छ । यीमध्ये नौ देशका उद्यमी पर्यटन क्षेत्रमा लगानी गर्न चाहन्छन् ।
चीन र स्पेनपछि भारतले उत्पादन, सेवा र पर्यटन क्षेत्रमा धेरै लगानीको प्रस्ताव गरेको छ । भारतीयहरूले कुल १ अर्ब ७७ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् जसमध्ये १ अर्ब ३३ करोड रुपैयाँ सेवा क्षेत्रमा र ३९ करोड रुपैयाँ उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने विभागको अभिलेखमा उल्लेख छ ।
प्रकाशित मिति:
सोमबार, वैशाख १९, २०७९, १०:३१:००