काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष पहिलेझैं सञ्चालन हुने भएको छ । यसपालिको एसईई यही वैशाख ९ गते सामान्य अवस्थामा जस्तै गरी सुरु गर्न लागिएको हो ।
बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ ।
परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए ।
ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति:
सोमबार, वैशाख ५, २०७९, ०७:२३:००