अमेरिकामा इञ्जिनियरिङको काम गरिरहनुभएका केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह ‘अर्को भोर’ सार्वजनिक गरिएको छ । साहित्यकार एवं पूर्वसांसद नारायण ढकालले पुस्तक सार्वजनिक गर्नुहुँदै विश्वको साहित्यिक नक्सामा नेपाल कतै नदेखिएकाले देखाउने जिम्मेवारी युवा पुस्ताका लेखकमा आएको बताउनुभयो । नेपाली साहित्यलाई विश्व मानचित्रमा चिनाउन स्तरीय कृति अनुवाद हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वव्यापीकरणको वर्तमान सन्दर्भमा साहित्यकार जुन देशमा बसे पनि नेपाली साहित्य र संस्कृतिको सेवा गर्नसक्ने साहित्यकार ढकालको भनाई थियो । समालोचक महेश पौडेलले नेपाली एवं अङ्गे्रजी साहित्यकै पठनपाठनमा लागेकाले मात्र साहित्य सिर्जना गर्नुपर्छ भन्ने मान्यता गलत सावित हुँदै गएको उल्लेख गर्नुहुँदै फरक पेसा र व्यवसायका मानिस साहित्यिक क्षेत्रमा आउँदा नयाँ विषय सिर्जनाका रुपमा पाठकसामु प्रस्तुत हुने बताउनुभयो । ज्ञवालीको कथा ‘एक्वारियम’ लाई आफूले उत्कृष्ट कथाका रुपमा ठह¥याएको उहाँले सुनाउनुभयो । समालोचक ज्ञानु अधिकारीले कथासङ्ग्रहले कथाको परम्परागत मान्यतालाई तोडेको उल्लेख गर्नुहुँदै प्रसस्त उपकथा जोडिएको बताउनुभयो । कथासङ्ग्रहमा धेरै कथा अमेरिकाका परिवेशमा लेखिएका छन् । केही कथा भने नेपाल र खाडीमुलुकको सन्दर्भमा पनि लेखिएको उहाँले जानकारी गराउनुभयो । नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको सङ्केत पनि रहेको समालोचक अधिकारीले सुनाउनुभयो । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाउनुभएको हो । कार्यक्रममा लेखक ज्ञवाली र प्रकाशक संस्था शिखा बुक्सका पुष्पराज पौडेललगायतले कथासङ्ग्रह फरक स्वाद र पहिचानका साथ नेपाली कथा क्षेत्रमा आएको जानकारी गराउनुभएको थियो । कथासङ्ग्रहमा १४ वटा कथा छन् ।
प्रकाशित मिति:
शनिबार, पुस १०, २०७८, २१:४५:००